महोत्तरी । महोत्तरीको बर्दिबासमा नेपाली सेनाको टोली सवार बलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ । मध्य पूर्वी पृतना तालिम शिक्षालय धारापानी धनुषाबाट बर्दिवासतर्फ आउँदै गरेको बा २ झ ४६३ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।
दुर्घटनामा परेर ३३ वर्षीय जमदार बुद्धमान राई र ३४ वर्षीय अमलदार सन्तोष विष्ट गम्भीर घाइते भएका छन् । यस्तै ३४ वर्षीय प्यूठ अमल थापा, २४ वर्षीय दशरथ थारु, ३८ वर्षीय नेपाली सेनाका सवारी चालक चेतराज राई पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको बर्दिबासस्थित जनसेवा हस्पिटलमा उपचार भइरहेको छ ।
घाइतेहरुलाई थप उपचारका लागि नेपाली सेनाको काठमाडौंस्थित छाउनी अस्पताल लैजान हेलिकप्टर मगाइएको छ । पानी तान्न मोटर लिन नेपाली सेनाको टोली बर्दिबास आउँदै गर्दा अगाडीको देब्रे साइडको चक्का पडकेपछि अनियन्त्रित भएर १० मिटर गहिरो खोल्सीमा खसेको हो ।
घटनास्थल पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास भन्दा २० मिटर नजिकै पर्छ । घटनास्थलाबाट घाइते नेपाली सेनाका जवानलाई स्थानीय बासिन्दा र प्रहरीले अस्पताल पुर्याएको थियो ।






