काठमाडौं । प्रदेश नम्बर २ मा बुधबार ३१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । बुधबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा गरिएको परिक्षणमा सबभन्दा बढी पर्सामा २३ जना संक्रमित भएका छन् ।
महोत्तरीमा ३, धनुषामा २, बारामा २ र रौतहटमा १ जना संक्रमित थपिएका हुन् । त्यस्तै, सप्तरीमा २ सय ५०, सिरहामा १ सय, धनुषामा ४२, रौतहटमा ८४, बारामा १५ र पर्सामा १५ गरि प्रदेशभरिमा रहेको ५ सय ६ बेड क्षमताका आइसोलेसनमा पर्सामा मात्रै २ जना भर्ना रहेका छन् ।
महोत्तरी र सर्लाहीमा अहिले आइसोलेसन सेन्टर नै छैनन् । यस प्रदेशमा सप्तरीमा ३, सिरहामा ८, धनुषामा २१, महोत्तरीमा १०, सर्लाहीमा २, रौतहटमा २, बारामा ४१ र पर्सामा १ सय ३५ जना गरी जम्मा २ सय २२ जना व्यक्ति होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
प्रदेशमा अहिले कुनै पनि ठाउँमा क्वारेन्टाइन छैनन् भने होम क्वारेन्टाइनसमेत खाली छन् । धनुषाका २४ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज सप्तरीमा १, सिरहामा ४, धनुषामा २४, महोत्तरीमा ६, सर्लाहीमा १, रौतहटमा ४, बारामा २ र पर्सामा ४९ गरी जम्मा ९१ जनाको स्वाब संकलन गरिएको छ ।
प्रदेश २ मा अहिलेसम्ममा सबैभन्दा बढी पर्सा जिल्लामा ३ हजार ४ सय ३४ जना संक्रमित भइसकेका छन् । धनुषामा २ हजार ६ सय ८५, रौतहटमा २ हजार १ सय ७४, सर्लाहीमा २ हजार ४९, महोत्तरीमा १ हजार ८ सय ३६, सप्तरीमा १ हजार ८ सय ३५, बारामा १ हजार ७ सय ५५ र सिरहामा १ हजार ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये १६ हजार ९ सय ९८ जना निको भई आ–आफ्नो घर फर्किसकेका छन् । जसमध्ये १४ हजार ३२ पुरुष र २ हजार ९ सय ६६ महिला रहेका छन् । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या २ सय २४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ४० महिला र १ सय ७२ पुरुष गरी २ सय १२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ५३, सप्तरीमा ४१, सिराहामा २५, धनुषामा २५, बारामा २५, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १० र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।






