रौतहट । चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।बिहिबार बिहान ५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटोमा सवार ४ जना मानिसहरु घाइते भएको र अस्पतालमा लगेपछि ३ जनालाई मृत घोषणा गरिएको इलाका प्रहरी कार्यालय चपुरले जनाएको छ । मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर हुन् । उनीहरुलाई अस्पतालमा ल्याएपछि मृत घोषणा गरिएको हो ।
दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको दुवै खुट्टामा चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । बस चालक नियन्त्रणमा लिएर दुर्घटना बारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।




