सर्लाही । संविधान दिवसका अवसरमा सर्लाही सदरमुकाम मलङ्गवामा आयोजना गरिएको कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी मलङ्गवाले रक्तदान कार्यक्रमको आयोजना गरेकोे थियो ।
सर्लाहीमा हिजोदेखि तीन दिवसीय संविधान दिवस मनाउन सुरु गरिएको छ । सर्लाहीको २० वटै पालिकाको विभिन्न ठाउँमा हिजो साँझ दीप प्रज्वलित गरिएको थियो । साथै सरकारी कार्यालयहरुमा समेत दीपावली मनाइएको छ ।
संविधान दिवस मनाउन केन्द्रबाटै असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमहरु तय भएर आएको र स्थानीय स्तरमा समेत विभिन्न कार्यक्रमको आयोजना गरी सर्लाहीमा दिवस मनाउन सुरु गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।
संविधान दिवसका अवसरमा वृक्षारोपन, मानव सेवा आश्रम हरिवन र पद्म भुवनेश्वरी वृद्धाश्रम नवलपुरमा खाद्य सहयोग, सरसफाइ कार्यक्रम, मैत्रीपूर्ण फुटबल, दीपावली लगायत फरक खालको सिर्जनशील कार्यक्रम समेत आयोजना गरिने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो । रासस




