काठमाडौं । प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा। कमलेशप्रसाद यादवले जानकारी दिए ।
गत २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा अन्टिजेन विधिबाट एउटा नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । ३४ जनाको पीसीआर जाँच गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यस्तै, नारायणी अस्पताल वीरगञ्जमा अन्टिजेन विधिबाट ३ जनाको नमुना परीक्षण गर्दा सबै पोजेटिभ आएको छ भने ७५ वटा पीसीआर जाँच गर्दा ३८ वटा पोजेटिभ आएको छ ।
शुक्रबार पर्सामा ३१, धनुषामा १०, बारामा ३, रौतहटमा २, महोत्तरीमा १ र अन्य जिल्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।
अहिले २ सय ८४ जना यस प्रदेशमा कोरोनाको सक्रिय संक्रमित छन् । सबैभन्दा बढी पर्सामा १ सय ६९ जना सक्रिय संक्रमित छन् । त्यस्तै, बारामा ४४, धनुषामा ३६, महोत्तरीमा १५, सिरहामा ८, रौतहटमा ७, सप्तरीमा ३ र सर्लाहीमा २ जना सक्रिय संक्रमित छन् ।
यसभन्दा पहिले प्रदेश २ को ५ वटा जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या शून्य पुगेको थियो । प्रदेश २ मा कोरोना संक्रमितको ग्राफ पुनः उकालो लाग्न थालेको छ । पछिल्लो १५ दिनमा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै, ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६ जना मात्र यस अवधिमा डिस्चार्ज भएका छन् । चैत २० गतेभन्दा पहिले यस प्रदेशमा ३९ जना मात्र संक्रमित थिए ।
त्यस्तै, वैशाख १ गते ३१ जना, २ गते १२ जना थपिएका थिए र एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । वैशाख ३ गते पुनः ४९ जना संक्रमित थपिएका छन् ।






