वीरगंज । वीरगंजको नारायणी अस्पतालमा मंगलवार गरिएको १४० जनाको स्वाब परीक्षणमा ९१ जनामा कोरोना पुष्टि भएको छ । जसमा ५५ जना पुरुष र ३६ जना महिला रहेका छन् ।
संक्रमण पुष्टि भएकामध्ये पर्साका ७६, बाराका ९, सर्लाहीका ३, रौतहट, सप्तरी र मकवानपुरका १/१ जना रहेका छन् । पर्सामा संक्रमित भएकामध्ये सबैभन्दा धेरै सदरमुकाम वीरगंज महानगरको विभिन्न वडाका बासिन्दा रहेका छन् ।
वीरगंजका कुल ६८ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । अन्य संक्रमितहरु पर्साको बहुदरमाई नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका र विन्दवासिनी गाउँपालिकाका रहेको डा. दासले बताए ।
वीरगंजमा थपिएका संक्रमितहरु वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, २२, २४, र ३० का बासिन्दा हुन् । थपिएका ९१ जना संक्रमितहरुमा ६ वर्षीय बालकदेखि ७९ वर्षीय वृद्ध पनि रहेका छन् ।






