रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका बालकका आफन्तले न्याय माग्दै बिहिबार दिउँसो विरोध प्रदर्शन गरेका छन् । चन्द्रपुर नगरपालिका वडा नं–४ स्थित चन्द्रनिगाहपुरमा ७ महिना अगाडि भएको सवारी दुर्घटनामा १० वर्षीय बालक सम्राट तिमलसिनाको मृत्यु भएको थियो ।
मृतक बालकलाई तिमलसिनाका छिमेकी रमेश घिमिरेले चलाएको मोटरसाइकलले घर नजिकैको सडकमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । गत मंसिर ३ गते भएको दुर्घटनामा मृतक बालकले ज्यान गुमाएका थिए ।
मृतकका परिवार, छरछिमेक तथा मावली र आफन्तले बिहिबार न्याय दिनुपर्ने निकायले मुद्दामा विपक्षीलाई उन्मुक्ति दिएकाले अन्याय भएको भन्दै बिहिबार दिउँसो कप्तान टोलदेखि इलाका प्रशासन कार्यालय हुँदै चन्द्रनिगाहपुरमा बृहद र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
जिल्ला अदालत रौतहटमा सन्तोष तिमलसिनाले गत मंसिर २९ गते रमेश घिमिरेलाई प्रतिवादी बनाई सवारी ज्यान मुद्दा दर्ता गरेका थिए । सो मुद्दाको गौरस्थित जिल्ला अदालत रौतहटले गएको जेठ ३० गते फैसला गरेको हो ।
जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले आंशिक अभियोग दावी पुग्ने भन्दै फैसला सुनाएको हो । प्रतिवादी घिमिरे ६ महिना जेल सजाय तथा २ हजार रुपैयाँ बुझाएर थुनामुक्त भएका थिए ।
मुद्दा फिर्ता लिने सहमति नगरेको र हाम्रो जानकारी विना अदालतबाट हाम्रो अनुपस्थितिमै फैसला सुनाएपछि न्याय खोज्न कहाँ जाने भन्दै मृतक बालककी आमा सरस्वतीले दुखेसो पोखेकी छन् । सांसद देवप्रसाद तिमल्सिनाको पहलमा दोषीलाई उन्मुक्ति दिइएको पीडित परिवारको आरोप छ ।
यस घटनामा रौतहट क्षेत्र नम्बर ४ का संघीय सांसद देवप्रसाद तिमिल्सिनाले भने आफूमाथि अनावश्यक रुपमा निराधार र कपोकल्पित दुष्प्रचार गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यसअघि विज्ञप्ति जारी गरेका थिए ।




