निजगढ । पश्चिमबाट पूर्व दिशातर्फ दुर्तगतिमा ओभरटेक गरेको यात्रुवाहक बसले शनिबार बिहान करिव ९:४५ बजे मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमैं ज्यान गएको छ भने अटोचालकसहित अटोमा सवार तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा बस्ने २० वर्षीय दिनेश चौधरी रहेका छन् भने अटोचालक निजगढ–१० लाल बस्ने २४ वर्षका सुकराम बमजन, मकवानपुर बकैया गाउँपालिका–१ धियाल घर भई हाल सिगौल बस्दै आएका २२ वर्षका सानतेन लामा र जीतपुर सिमरा उपमहानगरपालिका–१६ का २१ वर्षका कुलबहादुर थिङ घाइते भएको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ ।
प्रदेश नं. १–०२–००१ ख ९७९३ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ६३प ८४४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमैं मृत्यु भएको इप्रका, निजगढका प्रनि घनश्याम श्रेष्ठले बताए ।
दुर्त गतिमा ओभरटेक गरेको सो बसले मोटरसाइकल, सडक किनारमा रोकिराखेको ना ३ स ९२३७ नम्बरको ईरिक्शा र गुडिरहेको यात्रु सवार प्रदेश २–०३–००१ ह १०६६ नम्बरको अटोलाई ठक्कर दिँदा उक्त घटना भएको राजमार्गस्थित बुद्धचोकमा जडान गरिएको सिसिटिभी क्यामेराले कैद गरेको फुटेजमा देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढका ट्राफिक प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए ।
अटोचालकसहित अटोमा सवार तीन जनालाई छात्ती, घुँडा, मुख, कम्मर लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेकाले वीरगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सो दुर्घटना पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित बाराको निजगढ नगरपालिका–९ स्थित जमुनापैनी नजीकै भएको हो ।
ठक्कर दिने बस चालक सिराहाका अजय ठाकुर इप्रका, निजगढको नियन्त्रणमा छ । शल्य परीक्षणपछि मृतकको शव परिवारले बुझिसकेको जिप्रका, बाराले जनाएको छ ।




