सर्लाही । सर्लाहीमा प्रदेश सरकारका मन्त्रीको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् । जिल्लाको बरहथवा नगरपालिका ९, मुक्तेश्वर चोकमा मधेश प्रदेश सरकारको गाडीले ठक्कर दिएको हो ।
मधेश प्रदेश सरकारका उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम अजाद चढ्ने गरेको मधेश प्रदेश ०२-००१ झ ०२४० नम्बरको स्कारपियो गाडीले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका हुन् ।
दुर्घटनामा बरहथवा नगरपालिका ५ बस्ने १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपलिका ५, मोहनपुर बस्ने १८ वर्षीय दीपक महतो र बागमती नगरपालिका १० शानकरका १९ अज्ञार अजय महतो घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनाको वीरगन्जमा उपचार भइरहेको छ । तीन घाइते मध्ये अजय महतोको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि गाडीका चालक फरार भएका छन् ।
बरहथवा प्रहरीले दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले गाडी तोडफोड गरेका छन् । गाडीलाई अहिले इलाका प्रहरी कार्यालय बरहथवामा लगेर राखिएको छ ।




