सर्लाही । नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका ८ जुटपानीमा मंगलबार अपराह्न भएको दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
लालबन्दी १ नवलपुरस्थित जेआईसी बोर्डिङ स्कुलको बसले किच्दा सो विद्यालयको एलकेजीमा अध्ययनरत हरिपुर नगरपालिका ८ स्थायी घर भई लालबन्दी नगरपालिका वडा नं. २ मा बस्ने वीरेन्द्र पासवानका ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार आदित्यलाई बसबाट ओरालेर बस अगाडि बढाउँदा बसले उनलाई किचेको थियो । दुर्घटनापछि स्थानीयवासीले जुटपानीमा नवलपुर–मलङ्गवा सडक अवरुद्ध गरेका छन् । स्थानीयलाई सम्झाइ बुझाइ गरेर यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
जुटपानीस्थित हरिपुर र लालबन्दी नगरपालिकाको सीमामा भएको उक्त दुर्घटनामा सिकिस्त भएका आदित्यलाई उपचारका लागि स्वाभिमान अस्पताल बर्दिबास लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
दुर्घटनामा संलग्न स्कुल बस र चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको छ । दुर्घटना लगत्तै सिकिस्त आदित्यलाई उपचारका लागि स्कुलकै बसमा बर्दिबासस्थित स्वाभिमान अस्पताल लगिएको थियो ।




