बारा । बारामा बस दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । आज बिहान २ बजे भएको दुर्घटनामा परि २७ जना घाइते भएका छन् । काकड्भिट्टाबाट काठमाडौं तर्फ आइरहेको बस ट्रकसँग ठोक्किन पुगेको थियो ।
बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बुधबार बिहान २ बजे बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किँएको थियो ।
दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
उनीहरूको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




