सर्लाही । सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । नापी कार्यालय मलङगवाका प्रमुख संजय मानन्धरसहित नापीका अन्य कर्मचारी सवार जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मलङगवा नवलपुर सडकखण्ड अन्तर्गत चमेली माई मन्दिर नजिकै तीव्र गतिमा आइरहेको जिपले अगाडि रहेको ज २ त १०६७ नम्बरको उखु बोकेको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटना ग्रस्त बिआर ०६ पिडि ९६४८ नम्बरको भारतीय जिपमा सवार सबै नापी कार्यालयका कर्मचारी रहेको बुझिएको छ । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई सदरमुकाम मलङगवा स्थित सरकारी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्ज, जनकपुर र काठमाडौं रिफर गरिएको छ ।
घाइते हुनेहरूमा नापी प्रमुख संजय मानन्धर, कर्मचारी वैद्यनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र याद, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




