वीरगंज । राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका रोहितकुमार ओझालाई सिआइबीले अर्काको खाताबाट सवा करोडभन्दा बढी रकम चोरी गरेको कसूरमा पक्राउ गरेको छ ।
हाल पोखरिया शाखामा कार्यरत ओझाले नक्कली कनेक्ट आइपिएस बनाएर बानेश्वर शाखामा खाता रहेको एक जना नेपाली नागरिक हाल कोरियामा बस्दै आएका व्यक्तिको खाताबाट रकम चारी गरेका हुन् ।
उनले २१ पटकमा १ करोड ३७ लाख ८६ हजार निकालेको पाइएपछि उनलाई सोमबार दिउँसो पोखरिया शाखाबाट सिआइबीको टोलीले पक्राउ गरी काठमाडौं लगेको हो ।
सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले कोरियामा रहेका नेपाली नागरिकको राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा रहेको खाताबाट ओझाले नक्कली कनेक्ट आइपिएस बनाएर रकम निकालेको पाइएपछि उनलाई पक्राउ गरेर राष्ट्र बैंकको कसूर ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको बताए । ओझा अहिले सिआइबीको हिरासतमा रहेका छन् ।




