महोत्तरी । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा एक जना घाइते भएका छन् ।
महोत्तरी पिपरा गाउँपालिका ५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका १ का ६० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटा सुमोले गएराति पिपरा १ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको हो ।
ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो । विपरीत दिशाबाट आउँदै साइकल ठक्कर दिँदा यादवको मृत्यु भएको हो । ट्र्याक्टरमा सवार पिपरा ५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका छन् ।
उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । टाटा सुमो पनि मटिहानी ४ स्थित सडक छेउमा पल्टिएको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।




