वीरगंज । वडा प्रहरी कार्यालय, बिर्ताले सोमबार मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ठूलो आवाज बनाएको कसूरमा दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल कम्पनीले बनाएको साइलेन्सर यातायात कार्यालयको स्वीकृति बेगर परिवर्तन गरेर चर्को ध्वनि हुने गरी सवारी सञ्चालन गरेको पाइएकाले दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले वीरगंज महानगर २ छपकैया इदगाहचोकबाट जीतपुरसिमरा उपमहानगर ७ बस्ने २१ वर्षीय आशिष सोनी र कलैया उपमहानगरपालिका २३ बस्ने २४ वर्षीय अफरोज आलमलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
उनीहरूले चलाएको चर्को ध्वनिको मोटरसाइकलले सर्वसाधारणलाई समस्या परेको उजूरीका आधारमा नियन्त्रणमा लिएको र आवश्यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।




