सर्लाही । सर्लाहीको लालबन्दीमा बुधबार साँझ बस र ट्रक आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये ट्रक चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ साढे पाँच बजेतिर पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका १ स्थित नवलपुर बजारमा जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बस र विपरित दिशाबाट आउँदै गरेको ट्रक आपसमा ठोक्किँएको थियो ।
बा ४ ख ३२४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख ४३३ नम्बरको ट्रक आपसमा ठोक्किँएका हुन् । दुर्घटनामा ट्रक चालक मकवानपुरको हेटौँडा घर भएका टंकबहादुर गोले गम्भीर घाइते भएका छन् ।
ट्रक चालक गोलेलाई नवलपुरमा सामान्य उपचारपछि थप उपचारको लागि बाराको परवानीपुरमा रहेको एलएस न्युरो अस्पताल लगिएको छ । घाइते सबैको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।




