सर्लाही । रोकिराखेको बसलाई मोटरसाइकलले ठक्कर दिँदा हरिवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । हरिवन नगरपालिका ९ नयाँरोडबाट विष्णुपुर जाने भित्री सडकखण्डमा रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसलाई नयाँरोडतर्फ गइरहेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकलले मंगलबार बिहान पौने ४ बजे ठक्कर दिएको हो ।
उक्त दुर्घटनामा मोटसाइकलमा सवार रौतहटको चन्द्रपुर नगरपालिका २ का अन्दाजी २२ वर्षका सुमन दनुवारको मृत्यु भएको हो । त्यस्तै, उक्त दुर्घटनामा हरिवन नगरपालिका ९ निवासी करिव २५ वर्षीय रोहन दनुवार गम्भीर घाइते भएको हरिवन प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । तर, चिकित्सकले सुमनलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका रोहनलाई भने थप उपचारका लागि वीरगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।




