रौतहट । वृन्दावन नगरपालिका वडा नम्बर १ बलेरी टोलमा एक जनाले धारिलो हँसिया प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । बलेरी टोलका अन्दाजी ४० वर्षीय तीर्थ वाइवाले श्रीमतीको हत्या गरेका हुन् ।
उनले हँसियाले श्रीमतीको घाँटीमा प्रहार गर्दा उनकी श्रीमती अन्दाजी ३५ वर्षीय सोती माया वाइबाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमती सेती माया तामाङलाई बुधबार दिउसो साढे ४ बजे हत्या गरेका हुन् ।
श्रीमतीको हत्या गरेपछि वाइवाले धारिलो हतियारले आत्महत्याको प्रयास गरेको र स्थानीयले प्रहरीलाई खबर गरेपछि गम्भीर घाइते वाइवालाई चन्द्रपुरमा उपचारको लागि पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उनले दिउँसो बागमतीको बगरमा घाँस काट्न गएका श्रीमान श्रीमतीबीच विवाद हुँदा श्रीमतीको घाँटी रेटेर हत्या गरेका थिए । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




