रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवाको निधन भएको हो । आइतबार बिहान परोहा नगरपालिकाको लौकाहास्थित हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा बौधीमाई नगरपालिका ४ निवासी २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको हो ।
बिआर ०५ बीबी २८४० र बिआर ३० यू २७६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा परी गम्भीर घाइते भएका पासवानको मृत्यु भएको हो । दुर्घटना पश्चात उपचारका लागि एलएस न्यूरो अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।
यस्तै दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा परोहा नगरपालिका २ जिंगडवा बस्ने २२ वर्षका शेख तवसिम आलम र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षका शेख अलियास रहेको प्रहरीले जनाएको छ । घाइतेहरूमध्ये एक जनाको रौतहट र अर्काको वीरगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।




