बारा । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको साढे १३ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चेकजाँच गर्दा साढे १३ लाख नेपाली रुपैयाँ बरामद भएको हो ।
जिप्रका, बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सूचनाको आधारमा विश्रामपुर गापा–४ मुसहर्वा सडकखण्डमा भारतबाट नेपालतर्फ आइरहेको प्रदेश २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा साढे १३ लाख नेपाली रुपैयाँ बरामद भएको र स्रोत खुलाउन नसक्दा मोटरसाइकल चालक पोखरिया नगरपालिका १ वनकटवाका ३४ वर्षीय हरिकिशोर पटेल र पछाडि बस्ने बारा महागढीमाई नपा–१ बस्ने ४२ वर्षीय रमेश कुशवाहालाई पक्राउ गरिएको बताए ।
उनले स्रोत नखुलेको सो रकम हुन्डीको कारोबारमा प्रयोग हुने आशङ्का गरिएको र सो बारे थप अनुसन्धान भइरहेको बताए ।




