सिराहा । सुन्दा पनि आङ्ग सिरिङ्ग हुने घटना सिराहामा भएको छ । छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सरिता कुमारीले गत मंगलबारदेखि नै ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताउँदै आएकी थिइन् । छिमेकीले खोजी गर्दा समेत बालक भेटिएका थिएनन् । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले खोजी गर्नेक्रममा सरिता सुत्ने कोठामै आयुशको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले बताए । यस्तो कहालीलाग्दो र क्रुर घटनाले सबैलाई स्तब्ध बनायो ।
आयुशको शव सरिता सुत्ने खाटको घर्राभित्र भेटिएको प्रहरीले जनाएको छ । उनले छोरोको घाँटी थिचेर हत्या गरेकोजस्तो देखिएको प्रहरीले जनाएको छ । सरिताकुमारीले छोराको हत्या गरेको स्वीकारेकी छन् ।
शवको पोस्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने डिएसपी सापकोटाले बताए । प्रहरीले सरिताविरुद्ध कर्तव्य ज्यान मुद्दामा सिराहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।




