वीरगन्ज । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा नगद १३ लाख १५ हजार रुपैयाँसहित वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज २२ जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेल रहेका छन् ।
वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो ३ बजेतिर वीरगन्ज १४ गण्डक चोकबाट पटेललाई नियन्त्रणमा लिएको हो ।
वीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकी खान तलासी गर्दा पटेलले पिठ्युमा बोकेको झोलाभित्र लुकाई ल्याएको स्रोत नखुलेको १ हजार दरको ८ सय ८९ थान र ५ सय दरको ८ सय ५० थान, १ सय दरको १० थान गरी कूल १३ लाख १५ हजार रुपैयाँ बरामद भएको छ ।
उनको झोलाबाट विभिन्न बैंकको खाली चेकहरु ७ थानसमेत बरामद भएको छ । पटेललाई नियन्त्रणमा लिई उनीविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।




