सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका २ मा मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बयलवास-बबरगञ्ज सडकखण्ड अन्तर्गत चन्द्रनगर गाउँपालिका २ पर्ती बजार नजिक रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हो ।
ज १ त ५१९० नम्बरको ट्याक्टरमा दक्षिणतर्फबाट आइरहेको प्रदेश-२-०३-०२१ प ११६८ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक ईश्वरपुर नगरपालिका १० बेलाका २९ वर्षीय सञ्जितकुमार साहको घटनास्थलमै मृत्यु भएको हो । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका साह केहि दिनअघि मात्रै छुट्टीमा घर आएको प्रहरीले जनाएको छ ।
यस्तै बरहथवा नगरपालिका १४ लालदियरमा बा ४० प ८९९५ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् । घाइते चारै जनाको जनजीवन अस्पताल बरहथवामा उपचार भइरहेको छ ।
त्यस्तै, पूर्व पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिकास्थित बाँके जंगलमा बर्दिवासबाट फूलजोरतर्फ आइरहेको प्रदेश २-०३-००१ च ४००८ नम्बरको खाली पिकअप तीव्र गतिका कारण अनियन्त्रित भई पल्टिँदा चालक र सहचालक घाइते भएका छन् ।




