वीरगंज । वीरगंज महानगरपालिका १२ मुर्लीमा एक जना विवाहित महिलाले आत्महत्या गरेको विषयलाई लिएर अहिले परिवारका सदस्यहरूमाथि माइती पक्षले हत्या आरोप लगाएको छ ।
यही जेठ ५ गते राति ११ बजे २१ वर्षीया मनीषादेवी कानू पङ्खामा पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् । घर परिवारका सदस्यले उनले आत्महत्या गरेको दाबी गरेका छन् ।
प्रहरीले तत्काल केहि भन्न नसकिने र घटना बारे अनुसन्धान भइरहेको जनाएको छ । शवको शल्यपरीक्षण प्रतिवेदन आएपछि र अनुसन्धानपछि घटना बारे बताउने प्रहरीले बताएको छ ।
मृतक मनीषाका पिता पर्सा जिल्ला धोबिनी गाउँपालिका निवासी नरेश साह कानूले दाइजोको कारण छोरीको हत्या भएको आरोप लगाएका छन् । उनले गत २०८०/८/२१ मा छोरीको मागी विवाह भएको र त्यसपछि पनि छोरीको घर परिवारबाट बारम्बार विभिन्न सामानहरूको माग हुँदै आएको बताए ।
माग अनुसारको सामान दिन नसक्दा घर परिवारका सदस्यले छोरीलाई मानसिक तनाव दिएकाले आत्महत्या गरेको उनले आरोप लगाएका छन् । उनले सोधपूछ गरेर कानूनी कारवाही गर्न माग गरेका छन् ।
छोरीलाई सासू सीमा देवी, ससुरो बद्री साह कानू र सीमा देवीका भाइ वीरगंज १६ बस्ने दुर्गा साह कानूले मानसिक पीडा दिएको र आत्महत्या दुरुत्साहनमा यी तीन जना कसूरवार भएको भन्दै नरेश साह कानूले प्रहरीमा जाहेरी दिएका छन् ।




