रौतहट । फिरौती माग गर्ने उद्देश्यले झुक्याएर अपहरण गरी भारतमा लगेर हत्या गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका ५ बस्ने ५८ वर्षीय राजु मिश्रा रहेका छन् ।
उनले सोही नगरपालिका ३ बस्ने रोहितकुमार जयसवाललाई फिरौती माग गर्ने उद्देश्यले २०७८ पुष २० गते झुक्याएर अपहरण गरी भारत लगेका थिए ।
भारतको बैरगिनियाँमा लगेर बन्धक बनाएर राखिएका जैसवाललाई मिश्राले हत्या गरी जुटको बोरामा हाली नन्दवारा पुलमुनि फालेको रौतहट प्रहरीले जनाएको छ ।
फरार रहेका उनलाई आइतबार गौर नगरपालिका १ स्थित नेपाल–भारतको बोर्डरको भन्सारनजिकबाट पक्राउ गरिएको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
पक्राउ परेका मिश्रालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पठाइएकोमा अदालतको आदेशले पुर्पक्षको लागि गौर कारागारमा पठाइएको गिरीले बताइन् ।




