रौतहट । गरिब विपन्न वर्गका मानिसलाई घर बनाई दिने भनी रकम ठगी गर्ने गिरोह पक्राउ गरेको प्रहरीले जनाएको छ । ठगी गरेको आरोपमा रौतहट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने व्यक्तिहरुमा माधवनारायण नगरपालिका वडा नं. ७ लौकाहा बस्ने वर्ष ५२ को रामनाथ माझी, वर्ष ३२ को प्रकाश माझी, गरुडा नगरपालिका वडा नं. ६ पोठियाही वर्ष ४० का राकेश महरा, गरुडा नगरपालिका वडा नं. ९ गेडिगुठी बस्ने वर्ष २५ को सिकिन्द्र ठाकुर लोहार, गरुडा नगरपालिका वडा नं. ५ शिवनगरका वर्ष ७१ को मुगलाल महरा, गरुडा नगरपालीका वडा नं. ९ बस्ने वर्ष ४५ की रामकली देवी रहेको प्रहरीले जनाएको छ ।
रौतहटको माधवनारायण नगरपालिका वडा नं. ८ रजवडा टोल स्थितका विपन्न वर्गका मानिसहरुलाई मधेश प्रदेशको शहरी विकास मन्त्रालयले गरिब र विपन्न वर्गका परिवारलाई आवास बनाई दिने कार्यादेश प्राप्त भएको छ भनी विभिन्न लोभ प्रलोभन देखाई प्रति घर १० हजारदेखि ४० हजारसम्म खर्च लाग्छ भनी सयौं मानिसहरुबाट रकम असुली गरी ठगी गर्नेहरुलाई जेठ १९ गते पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपी एलिजा गिरीले जानकारी दिएकी हुन् ।




