सिरहा । सिरहामा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । हिजो शनिबार सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ७ कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतिर आउँदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएका थिए । मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनगढीमाई ८ का ३१ वर्षीय राजेश्वर यादव र १४ वर्षीय लालबाबु यादव रहेका छन् । दुर्घटनामा परी ज्यान गुमाएका परिवार र आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्ग केहीबेर बन्द गराएका थिए ।
दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको र ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए ।




