रौतहट । भारतीय प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका एक जना भारतीय नागरिकलाई लुटपाटमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना घोडासहन ग्राम पंचायत बसवरिया वडा २ का २० वर्षीय मोनुकुमार जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
गत जेठ २२ गते विहान साढे १० बजे मौलापुर नगरपालिका ६ पथरा बुधराम स्थित सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने बौधिमाई ८ का वर्ष २४ को अरबिन्द कुमार दासले १७ लाख झोलामा राखि राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न विआर ०५ ए एन ८७६२ भारतीय नम्बरको प्लाटिना मोटरसाईकलमा चढी मौलापुर तर्फ गईरहेका थिए ।
सोही क्रममा विपरित दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरुले उक्त रकम लुटपाट गर्ने उद्देश्यले अरबिन्द कुमार दासलाई पछाडीबाट गोली हानी भागी फरार भएको थियो । प्रहरीले अनुसन्धानको क्रममा घटनामा संग्लन अभियुक्तहरु सीमावर्ती भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समुहमा आवद्ध रहेको व्यक्तिहरु संग साँठगाठ रहेको निष्कर्ष निकालेको थियो ।
उनीहरू भारत र नेपालको सिमावर्ती ईलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गत २ गते साँझ साढे ५ बजेको समयमा मौलापुर ७ स्थितबाट घरेलु कटुवा पेस्तोल १ थान, गोली राउण्ड २ थान समेत भारतीय नागरिक जैसवाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।
जैसवाल माथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी रौतहत जिल्ला अदालतबाट म्याद थप थामाई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
आरोपी भारतीय नागरिक मोनु जायसवाल भारतीय प्रहरीले मस्ट वान्टेडको सूचीमा रहेका छन् । उनीमाथि घोडासहन र झरौखर थानामा एकदर्जन भन्दा बढी आपराधिक मुद्दाहरु दर्ता रहेको मोतीहारी जिल्लाका एस्पी कान्तेश कुमार मिश्रले बताएका छन् ।
आरोपी जैसवाल माथि भारतीय क्षेत्रमा अवैध हतियारको कारोवार, लुटपाट, अपहरण, अबैध मदिरा ओसारपसार जस्ता मुद्दा दर्ता रहेको भारतीय प्रहरीको जनाएको छ ।
गत मार्च महिनामा जैसवाल अन्य केही साथीहरुसँग मिलेर भारतीय सीमा सुरक्षा बल जमुनिया क्याम्पका एक जना जवान माथि आक्रमण गरेका थिए । उक्त घटनामा संलग्न अन्य केही अभियुक्त पक्राउ परेका थिए ।
यस्तै मुख्य योजनाकार जैसवाल नेपाल तर्फ भागेर जोगिएको एसएसबीले जनाएको छ । जैसवाल केही समय अघि जेल जीवन समेत बिताइ सकेका भारतीय प्रहरीले जनाएको छ ।




