वीरगञ्ज । जंगली हात्तीको दुई वटा दारासहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ गोरखपुर टालबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
ठोरी गाउँपालिका वडा नम्बर ४ का चन्द्र परियारको खेतमा खाल्डो खनी अनुमानित २१/२१ किलोग्रा मतौल भएको दुई वटा हातीको दारा फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
हात्तीको दारा विक्री गर्नका लागि ग्राहक खोजी भइरहेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान तिव्र बनाएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले बताए ।
उनका अनुसार पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ विजयबस्ती गुम्बालाइन बस्ने ४१ वर्षीय कुइसंग लामा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिप्रा बसने ४० वर्षीय प्रेम शर्मा र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बस्ने ३१ वर्षीय अमिरीलाल महतोलाई पक्राउ गरिएको हो ।
अनुसन्धानको क्रममा नेपाली ५० रुपैयाँको नोटमा सूचना स्वरुप मिति उल्लेख भएको तस्बिर र भिडियो, २१/२१ किलोग्राम बजन भएको हात्तीका दारा दुई थान र मोबाईल एक थान बरामद भएको डिएसपी भारतीले बताए । तीनै जना विरुद्ध डिभिजन वन कार्यालयसँगको समन्वयमा थप अनुसन्धान भइरहेको छ ।




