रौतहट । ओभरटेक गर्दा रौतहटको सदरमुकाम गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै अन्य ८ यात्रु घाइते भएका छन् ।
गौरबाट भैरहवा तर्फ गइरहेको ना ७ खं ८४१४ नम्बरको बस जयनगर चोकमा शनिबार विहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ वर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी रामेश्वर त्वातीले बताएका छन् ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ । एक जना यात्रु २६ वर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको हुँदा उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले बताएकी छिन् । अन्य सात जना घाइतेहरुको शिवनगर र गरुडामा उपचार भइरहेको छ ।
दुर्घटना पछि बसका चालक र सहचालक फरार रहेका छन् । दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । एक जना प्रत्यक्षदर्शी कटहरिया ३ का अमरलाल साहका अनुसार तीव्र गतिमा रहेको बसले अर्को गाडीलाई ओभरटेक गर्दा अगाडिको दाहिने चक्का खाडलमा परेर बस पल्टिएको बताएका छन् ।




