रौतहट । पटक-पटक आर्थिक विवादमा पर्दै आएका रौतहटको कटहरिया नगरपालिकाका निलम्बित मेयर अजयप्रकाश जैसवालले महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयर बनाउन चलखेल सुरू गरेका छन् । मेयर जैसवाल, उपमेयर रितादेवी यादवसहित ११ जना एकैपटक निलम्बनमा परेपछि अहिले कार्यबाहक मेयर बनाउन चलखेल सुरू भएको छ ।
अख्तियारले भ्रष्टाचार मुद्दामा दायर गरेसँगै मेयर जैसवालले कार्यबाहक मेयर बनाउन चलखेल सुरू गरेका हुन् । केही समर्थक नगर कार्यपालिका सदस्यलाई बिहीबार अबेर राति आफ्नै घरमा बोलाएर एक जना महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएको निर्णय गराएका थिए ।
घरमै बसेर राति गरिएको उक्त निर्णयपछि मुसहर समुदायकी महिला कार्यपालिका सदस्य शुक्रबार मेयरको कुर्सीमा बस्ने योजना बनाएर कटहरिया नगरपालिकामा आएकी थिइन् । तर, बहुमत नगर कार्यपालिका सदस्यहरूले विरोध गरेपछि गोप्य तरिकाले गरिएको निर्णय नगरपालिकामा दर्ता हुन नसकेको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले बताएका छन् ।
वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र महतो, २ का अध्यक्ष हरेन्द्र साह, ३ का अध्यक्ष श्यामाकान्त यादव, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल प्रसाद, ७ का अध्यक्ष महमद सहिद, ९ का अध्यक्ष रुपेश यादवसहित उपस्थित १४ जना कार्यपालिका सदस्यले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको अध्यक्षतामा नगर कार्यपालिका बोर्डको बैठक आह्वान गर्न अनुरोध गरेका थिए ।
वडा अध्यक्षहरूको अनुरोधमा उपसचिव प्रधानले शुक्रबार बेलुकी ६ बजे कार्यपालिका बोर्डको बैठक आह्वान गर्दै पत्राचार समेत गरेका थिए । पत्राचारपछि एक जना वडा ६ का अध्यक्ष जयराम चौधरीबाहेक सबै १४ जना नगरपालिकाको सभाहलमा उपस्थित हुँदा प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान बैठकमा अनुपस्थित रहेका थिए ।
मेयर जैसवालको दबाबको कारण उपसचिव प्रधान बैठकमा अनुपस्थित भएको वडा अध्यक्षहरूले आरोप लगाएका छन् । बैठकमा आयोजक नै अनुपस्थित हुँदा बनेको अन्यौलको अवस्थामा वडा ४ का अध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकाको अवस्था बारे रौतहटका सिडिओ हिरालाल रेग्मीलाई फोन गरेर जानकारी गराएका थिए ।
निर्वाचित भएदेखि नै विभिन्न आर्थिक विवादमा पर्दै आएका मेयर जैसवाल निलम्बित भएपछि महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर विकास बजेट अनियमितता गर्ने दाउमा रहेको वडा अध्यक्षहरूको भनाइ छ । उपसचिव प्रधानले मेयर-उपमेयर निलम्बित भएको अवस्थामा नियमले जे भन्छ त्यही कार्यान्वयन हुने बताए । उनले कसैको दबाब प्रभावमा नपर्ने प्रतिवद्धता जनाए ।
उता मेयर जैसवालले नियम अनुसार कार्यबाहक मेयर बनाउन कार्यपालिकासँग स्वयम् अधिकार रहेको बताउँदै लागेको आरोपको खण्डन गरेका छन् । सिडिओ हिरालाल रेग्मीले कटहरिया नगरपालिकाको हकमा के हुने भन्नेबारे संघीय मामिला मन्त्रालयबाट हालसम्म कुनै निर्देशन नआएको बताउँदै नियमानुसार कार्यबाहक मेयर बनाइनु पर्ने बताए ।
कटहरीया नगरपालिकाका मेयर र उपमेयरसमेत ११ जनाविरुद्ध अख्तियार दुरुपयोगा अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेपछि उनीहरू निलम्बित भएका थिए । कटहरिया-२ मा जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स तथा फ्लोरिङको कामका लागि गठन भएको उपभोक्ता समितिले गरेको कम कामलाई बढी देखाएर भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर भएकामा मेयर अजय प्रकाश, उपमेयर रिता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजेशकुमार साह, मो. मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा ८ का अध्यक्ष तथा कार्यपालिका सदस्य समिशविक्रम साह, मनोजप्रसाद जैसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साह छन् ।
सो योजनामा नगरप्रमुख अजय प्रकाशले उपभोक्ता समितिलाई १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ भुक्तानी दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को (ग) र (ङ) बमोजिम कसुरमा बिगो १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय माग दाबी गरिएको छ ।
नेपाली कांग्रेस पार्टीबाट निर्वाचित निलम्बित मेयर जैसवाल भ्रष्टाचारमा लिप्त भएपछि सोही पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू खुलेरै विरोधमा उत्रिएका छन् । न्यूज कारखाना




