बारा । बाराको सदरमुकाम कलैयामा रहेको रामराजा क्याम्पसका प्रमुख हरिभूषण कुशवाहालाई गोली प्रहार गर्ने सुटर अझै पक्राउ पर्न सकेका छैनन् । क्याम्पस प्रमुखको गोली प्रहार गरी हत्या भएको २५ दिन बितिसिकेको छ । तर, कुशवाहालाई गोली प्रहार गर्ने सुटरलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
क्याम्पस प्रमुख कुशवाहाको हत्याको क्रममा प्रयोग भएको दुई वटा पेस्तोल भने प्रहरीले बरामद गरेको छ । साथै हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले हालसम्म पक्राउ परेका ८ जनाविरुद्द कर्तव्य ज्यान र हात हतियार खर खजाना कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेर कारबाही अघि बढाएको छ ।
आदर्श कोतवाल गाउँपालिका २ निवासी कुशवाहालाई वडा नम्बर ३ मा मोटरसाइकलमा आएका दुई जनाले गत जेठ ३२ गते गोली प्रहार गरी हत्या गरेका थिए । गोली प्रहार भएपछि कुशवाहाले मोबाइलमा आफूलाई सुरेन्द्र कुशवाहाले गोली हानेको भिडियो रेकर्ड गरेका थिए । उक्त भिडियो बारा प्रहरीसँग पनि छ ।
गोली प्रहार गर्ने सुरेन्द्र भने घटना भएको २५ दिन बितिसक्दा पनि पक्राउ परेका छैनन् । भिडियो मृतकले अन्तिम समयमा बनाएर सुरेन्द्रको नाम लिएकोले उनी नै मुख्य सुटर हुन सक्ने प्रहरीको अनुमान छ । तर, सुरेन्द्र भने हालसम्म फरार छन् ।




