धनुषा । गत असार २८ गते त्रिशूली नदीमा रौतहट र पर्साका दुई यात्रुवाहक बस दुर्घटनामा परेकाहरूका परिवारलाई मधेश प्रदेश सरकारले एक लाखका दरले राहत दिने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रति व्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताएका हुन् ।
‘नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेका पीडित परिवारलाई राहत दिने घोषणा गरेका छौँ’, मुख्यमन्त्री सिंहले भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।’
मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा राहत रकम प्रदान गरिने बताएका हुन् । उनले दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारमा संघीय सरकारलाई आग्रह पनि गरेका छन् ।




