महोत्तरी । महोत्तरीको पिपरामा ट्याक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा पिपरा गाउँपालिकामा लागेको ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्याक्टर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार बिहिबार अपराह्न ४ बजे जलेश्वर नगरपालिका ६ धबौली गाउँबाट ज १ त ८०४४ नम्बरको ट्याक्टरमा पिपरा गाउँपालिका ५ मा लागेको दाहा मेला हेर्न गइरहेका बेला २७ जना जलेश्वर नपा ९ स्थित परिकौली चौक नजिकै दुर्घटनामा परेको हो ।
चालकले तीव्र गतिमा ट्याक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि जनकपुर लगिएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये धेरैको हात खुट्टामा चोट लागेको छ भने केहिको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




