सर्लाही । सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको राति उनको घरमा तीन जना मान्छे आएको खुलेको छ । चन्द्रनगर गाउँपालिका १ स्थित आफ्नै घरमा हत्या भएका रायको घरमा राति साढे ९ बजेतिर तीन जनाको समूह आएको अनुसन्धानबाट खुलेको हो ।
प्रहरी स्रोतका अनुसार राय राति श्राद्धमा गएर राति साढे ८ बजेतिर आफ्नो घरमा आएका थिए । त्यसको करिव १ घण्टापछि तीन जनाको मान्छेको समूह उनको घरमा आएको खुलेको हो ।
राय र उनको घरमा अर्का एक जना काम गर्ने व्यक्ति राम उदेन राय गरी दुई जना बस्दै आएका थिए । राति साढे ९ बजेतिर आएका तीन जनाले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै पूर्वराज्यमन्त्री रायलाई सोधेका थिए ।
हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भनेकाले राति आएका तीन जनाबीच जग्गा विवादको समस्या रहेको जस्तो बुझिएको अनुसन्धान अधिकृत बताउँछन् ।
जवाफमा ८० वर्षीय पूर्वराज्यमन्त्री रायले मिलाउँला नि भनेर जवाफ दिएको उनकै घरमा काम गर्न बसेका राम उदेनले बताएको प्रहरी स्रोतले बतायो । त्यसपछि आफूले तीन जनालाई पानी समेत खुवाएको राम उदनेले प्रहरी समक्ष बताएका छन् ।
रायलाई घरेलु हतियार प्रहार गरेर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ । रायको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको छ । राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।




