बारा । बाराको विश्रामपुर गाउँपालिका १ घोडासाहन नाकाबाट स्रोत नखुलेको नगद १० लाख २० हजार रूपैयाँसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा फेटा गाउँपालिका ६ पुरैनिया बस्ने ४१ वर्षीय सैदुल्ला मिया ठकुराई र २२ वर्षीय बागर अन्सारी रहेका छन् । इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ना ३६ प ४५६३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जना विरुद्ध हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।




