रौतहट । रौतहटमा एक वृद्धको शव फेला परेको छ । बुधबार विहान शंकास्पद अवस्थामा घर नजिकको खेतमा एक वृद्धको शव फेला परेको हो । जिल्लाको गौर नगरपालिका ५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव फेला परेको हो ।
उनको शव आफ्नै घर नजिक रहेको धान खेतमा भेटिएको रौतहटकी प्रहरी प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन् । महतोको हात र कोखामा धारिलो हतियारले प्रहार गरिएको पाइएको उनले बताइन् । चोट देख्दा उनको हत्या भएको आशंका गरिएको छ ।
सूचना पाएर घटनास्थल पुगेको प्रहरीले मृतक महतोको घरबाट प्याकेटमा राखिएको अवस्थामा गाजा फेला पारेको तथा उनको गोजीबाट पनि गाजा बरामद गरिएको डिएसपी गिरीले बताइन् ।
मृतक महतो प्रतिवन्धित गाजाको सेवनकर्ता एवम् बेचबिखनमा समेत संलगन रहेको हुन सक्ने उनले बताइन् । घटना बारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।




