महोत्तरी । महोत्तरीको बर्दिबासमा प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना युवा रहेका छन् । २२ र २३ वर्षीय युवक लागुऔषधसहित पक्राउ परेका हुन् ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका १ दुवाकोट बस्ने पुष्कर श्रेष्ठको छोरा २३ वर्षीय किसन श्रेष्ठ र मीनबहादुर वाइवाको छोरा २२ वर्षीय विकास वाइवा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
बागमती प्रदेश ०२–०२५ प ६४६७ नम्बरको एनएस पल्सर मोटरसाइकलमा चढी बर्दिबासबाट काठमाडौंतिर जाँदै गरेका उनीहरुलाई बर्दिबास ३ स्थित पाटुमा सवारी साधन चेकजाँच गर्दै गरेको नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।
प्रहरीले मोटरसाइकलको पछाडि बसेका विकासले बोकेको कालो खैरो रङको कपडाको ब्याग भित्र प्लास्टिकमा बेरिएर राखेको अवस्थामा नेपालमा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट १० लेखिएको ट्याब्लेट १ हजार ४ सय ७३ पिस र कोरेक्स लेखिएको झोलपदार्थ १ बोतल बरामद भएको हो ।
लागुऔषधसहित पक्राउ गरिएका दुवै युवकलाई आवश्य कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा ल्याई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




