सिराहा । सिराहामा करिब दुई क्विन्टल गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका १० स्कुल टोलबाट शुक्रबार अपराह्न २१७ किलो गाँजा र एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा ४५ वर्षीय स्थानीय बिहारी मुखियाको गोठबाट गाँजा बरामद गरेको थियो । गाँजा प्लास्टिकका १४ वटा पोका बनाएर राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
प्रहरीले गाँजा ओसारपसारको आशंकामा भारतको बिहार राज्य, मधुबनी बलरा थाना १२ का २१ वर्षीय किसुन मुखिया, मकवानपुरको मनहरी गाउँपालिका ९ का ६२ वर्षीय खडकबहादुर तामाङ र स्थानीय ४० वर्षीया चानोदेवी मुखियालाई पक्राउ गरेको छ । यस घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी सापकोटाले बताएका छन् ।




