बारा । घरायसी विवादको क्रममा खुर्पा प्रहार गरी बारामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मंगलबार राति पौने ८ बजेको समयमा निजगढ नगरपालिका ९ बस्नेत विमलकुमार बस्नेतले आफ्नी श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन् । राति रक्सी खाएर घर आएको क्रममा श्रीमान श्रीमतीबीच वाइफाइको पैसा तिर्ने कुरालाई लिएर विवाद भएको थियो ।
बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार वाइफाइको रिचार्ज गर्न पैसा नभएको रक्सी खान कहाँबाट पैसा आयो भनी लक्ष्मीले प्रश्न गरेपछि विमलले खुर्पा प्रहार गरी हत्या गरेका हुन् । सो विवाद छुट्टाउन गएका दुई जना छोरीहरूमाथि पनि विमलले प्रहार गरेका थिए ।
सो क्रममा १८ वर्षीया गंगा र १५ वर्षीया छोरी जमुना घाइते भएका छन् । घाइतेमध्ये जमुनालाई वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार पछि थप उपचारको लागि काठमाडौं पठाइएको तथा उनको अवस्था गम्भीर रहेको छ । खुर्पा प्रहार गर्ने विमललाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




