सर्लाही । सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । गोली लागेर युवकका बुवा पनि घाइते भएका छन् । हरिपूर्वा नगरपालिका ५ का २७ वर्षीय धीरेन्द्र यादवले गएराति २ बजेतिर श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
टाउको र आँखामा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । बुवा ५४ वर्षीय रामदिनेशको कुहिनोमा गोली लागेको छ । बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा उनलाई पनि गोली लागेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रादेशिक अस्पताल मलंगवामा उनको उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए ।
प्रहरीले घटनास्थलबाट दुई राउण्ड गोलीको खोका र एक राउण्ड मिसफायर भएको गोली बरामद गरेको छ । प्रहरीका अनुसार धीरेन्द्र केही समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए । गोली प्रहार गरी भागेका उनको खोजी र पत्नीको हत्या गर्नुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




