जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धनुषा जिल्ला मधेस प्रदेशमा सबैभन्दा धेरै उजुरी पर्ने क्षेत्र बनेको छ । सोमबार अख्तियारको बर्दिबास कार्यालयले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाएको प्रतिवेदनबाट यस्तो तथ्य खुल्न आएको हो ।
प्रतिवेदन अनुसार, गत आर्थिक वर्षमा मधेस प्रदेशभरका तीन तहका सरकारहरुविरुद्ध ८ हजार ५२९ उजुरी दर्ता भए, जसमा ६ हजार ४७२ उजुरीको फछ्र्यौट गरिएको छ । बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुवाङका अनुसार, करिब ८० प्रतिशत उजुरी स्थानीय सरकारहरुविरुद्ध परेका छन् ।
आर्थिक वर्ष २०७९/८० का ४२१ उजुरी र २०८०/८१ का १ हजार १ उजुरी गरी कूल १ हजार ४२२ उजुरी दर्ता भए, जसमा १ हजार ५६ उजुरीको समाधान गरिएको छ । विभिन्न जिल्लाहरूमा उजुरीको संख्या फरक छ ।
बारामा १ हजार २०७ उजुरी दर्ता भएकोमा ८८७ उजुरीको समाधान गरिएको छ । सप्तरीमा १ हजार १७० उजुरीमध्ये ९७१, रौतहटमा १ हजार ३५ उजुरीमध्ये ७३४, महोत्तरीमा १ हजार २२ उजुरीमध्ये ८३४, पर्सामा ९५६ उजुरीमध्ये ६९१ र सिरहामा ८८१ उजुरीमध्ये ६४२ फछ्र्यौट गरिएको छ ।
यस्तै सर्लाहीमा पनि ८३६ उजुरी दर्ता भएकोमा ६४२ उजुरी समाधान भएको छ । अख्तियारको प्रतिवेदन बुझाएपछि प्रमुख कुरुवाङले पत्रकारहरुसँग कुराकानी गर्दै मधेस प्रदेशमा भ्रष्टाचारको समस्या डरलाग्दो रूपमा वृद्धि भइरहेको बताए । उनले भ्रष्टाचारका मुद्दामा प्रदेश अग्रणी रहेको र हरेक वर्ष भ्रष्टाचार र सुशासनको अभाव थपिएको बताए ।
उनले विशेष गरी पूर्वाधार निर्माण, अनुदान वितरण र सार्वजनिक खरिद प्रक्रियामा भ्रष्टाचारका गम्भीर आरोपहरू लागिरहेका बताउँदै कृषि सडक स्तरोन्नति, अनावश्यक डिपिआर निर्माण तथा इन्धन र खाजा खर्चमा अनियमितता भएको जनाए । कुरुवाङले कुनै मुद्दामा सफाइ पाए पनि त्यसलाई भ्रष्टाचारको प्रमाण नभएको भन्न नमिल्ने तर पर्याप्त प्रमाण जुटाउन नसकिएको स्पष्ट पारे ।




