जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २४ का वडाध्यक्ष निलम्बनमा परेका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेपछि वडाध्यक्ष निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले घर बाटो प्रमाणित गरिदिन सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ लिएको आरोपमा वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव (शाखा अधिकृत) उपेन्द्र साहु तेली र अन्य एक व्यक्ति विजय मण्डललाई नियन्त्रणमा लिएको थियो ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार, सेवाग्राहीसँग घर बाटो प्रमाणित गरिदिनको लागि साढे ४ लाख रुपैयाँ घुस मागिएको सूचनाका आधारमा वडाध्यक्ष र अन्य दुई जनालाई पक्राउ गरिएको थियो । अनुसन्धानको क्रममा तीनै जनाले आपसी मिलोमतो गर्दै घर बाटो सिफारिस प्रमाणित गर्न सेवाग्राहीसँग घुस मागेको पुष्टि भएकोले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिएका छन् ।
वडाध्यक्ष र वडासचिवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा साढे ४ लाख विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन र प्रतिवादी विजय मण्डललाई मुख्य कसुरदार उपेन्द्र सहनीसमेतले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरको मतियार भई भ्रष्टानचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा विजय मण्डललाई मुख्य कसुरदार उपेन्द्र सहनीसमेतलाई विगो साढे ४ लाख कायम गरी भ्रष्टारचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यास बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको सहप्रवक्ता थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




