सर्लाही । पूर्वपश्चिम राजमार्गस्थित लखन्देही खोलाको पुलमा यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको छ । आइतबार राति लगभग पौने ८ बजे काठमाडौंबाट बिर्तामोडतर्फ जाँदै गरेको बा ४ ख ५९४९ नम्बरको रिजर्भ बसले नवलपुरबाट हरिवनतर्फ गइरहेको ना ४ त ३०४१ नम्बरको ढुंगा लोड गरिएको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको सर्लाही प्रहरीले जनाएको छ ।
यस दुर्घटनामा बसका चालकसहित २५ जना घाइते भएका छन्, जसलाई नवलपुरका विभिन्न अस्पतालहरूमा उपचारका लागि लगिएको छ । दुर्घटनाका कारण केहि समयसम्म यातायात अवरुद्ध भएको थियो । अहिले जेसिबीको सहयोगमा बाटो खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी, दुर्घटनामा परेको ट्याक्टरमा सवार तीन जना व्यक्तिहरू पनि घाइते भएको प्रहरीले जनाएको छ । उक्त बस सामान्यतया काठमाडौं(मुलपानी रूटमा सञ्चालनमा रहेको भन्ने कुरा बस चालकबाट बुझिएको प्रहरीले जनाएको छ ।




