रौतहट । किराना पसलमा चोरी गरेको आरोपमा रौतहटको परोहा नगरपालिका २ का १९ वर्षीय अभिषेक कुमार यादव पक्राउ परेका छन् । यादवलाई सोमबार राति साढे २ बजे परोहा ४, हवारी चोकमा रहेको इशराइल मियाँको किराना पसलबाट चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार पक्राउ परेका यादवको साथबाट नेपाली एक हजार दरका दुई थान नक्कली नोट बरामद गरिएको छ । सोधपुछको क्रममा यादवले नक्कली नोट पसलबाटै चोरी गरेको स्वीकार गरेका छन् ।
चोरीमा संलग्न अन्य दुई जना भने अझै फरार रहेका छन् । प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको र यादवमाथि चोरी र खोटा चलन सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिए ।




