वीरगञ्ज । पर्सा जिल्लामा चोरी गरिएको मोटरसाइकलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ९ का २१ वर्षीय सिद्धार्थ चौधरी, वडा नम्बर ८ का २४ वर्षीय विशाल दास थारु र वडा नम्बर २ का ३० वर्षीय प्रितमकुमार महतो रहेका छन् ।
असोज २५ गते पर्साको सखुवा प्रसौनी गाउँपालिका १ का शिवदत दास थारुको घरबाट ना ५१ प ७४३५ नम्बरको यामाहा मोटरसाइकल चोरी भएको थियो ।
उक्त मोटरसाइकल खोजतलास गर्ने क्रममा पर्सागढी नगरपालिका ९ को कोइलाभार क्षेत्रमा सिद्धार्थ चौधरीलाई उक्त मोटरसाइकल चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
चौधरीलाई सोधपुछ गर्दा अन्य दुई जनाको संलग्नता पत्ता लागेपछि उनीहरूलाई थप चारवटा मोटरसाइकलसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिएका छन् ।
पक्राउ परेका तीनै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको डीएसपी भारतीले बताए ।




