रौतहट । रौतहट प्रहरीले फरार रहँदै आएका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर हालसम्म फरार रहँदै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा एक हजार रुपैयाँ जरिवाना र तीन महिना चार दिन कैद सजाय पाएका नाजिर अन्सारी, चोरी मुद्दामा एक वर्ष ११ महिना सात दिन कैद र २० हजार जरिवाना पाएका सिहदान्त पासवान, बालविवाह मुद्दामा एक महिना ६ दिन कैद सजाय पाएका रामसागर गिरी रहेका छन् ।
यसैगरी चोरी मुद्दामा एक महिना कैद चार हजार २३७ रुपैयाँ जरिवाना पाएका पवनकुमार राउत कुर्मी, चोरी मुद्दामा दुई महिना तीन दिन कैद र दुई हजार जरिवाना पाएका उमेशकुमार भन्ने अखिलेशकुमार यादव र लागुऔषध मुद्दामा ५० हजार जरिवाना सजाए पाएका राकेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए ।




