वीरगञ्ज । बिहिबार बाराको प्रसौनी गाउँपालिकास्थित नहरको डिलमा मृत फेला परेका वीरगञ्जका युवक वीरेन्द्र साह सोनारकी श्रीमती मनीषा देवीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । बारा प्रहरीका प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार घटना बारे सोधपुछका लागि मनीषालाई बिहिबार नै नियन्त्रणमा लिइएको हो ।
यसैबीच, मृतक वीरेन्द्रका परिवारजनले उनको हत्या भएको आरोप लगाएका छन् । परिवारका अनुसार वीरेन्द्रको हत्या भारतीय नागरिक विजय गुप्ताले गरेको हो, जो बारास्थित मुसहर्वामा लागेको मेला हेर्न वीरेन्द्रसँग गएका थिए । विजय पछिल्लो साढे तीन वर्षदेखि वीरेन्द्रको वीरगञ्जस्थित घरमा भाडामा बस्दै आएका थिए ।
परिवारजनका अनुसार विजय र वीरेन्द्र असोज २७ गते साँझ मेला हेर्न गएका थिए । विजय राति फर्किए पनि वीरेन्द्र नफर्केपछि परिवारले खोजी सुरु गरेका थिए । मंगलबारसम्म घरमै रहेका विजयलाई सोधपुछ गर्दा उनले टार्ने व्यवहार देखाएपछि शंका बढेको थियो ।
मृतकका दाइ सुरेन्द्र साह सोनारले आफ्नो भाइको हत्या विजयले गरेको आरोप लगाउँदै उनलाई पक्राउ गर्न माग गरेका छन् । सुरेन्द्रले आफ्नो भाइको हत्या गर्न विजयलाई भगाउन बुहारी मनीषाको समेत हात रहेको दाबी गरेका छन् ।
विजय फरार भएपछि उनले मोबाइलमार्फत म्यासेज पठाएर वीरेन्द्र गण्डक नहरनजिक रहेको जानकारी दिएका थिए, जसपछि सुरेन्द्रले त्यहाँ पुगेर भाइको शव पहिचान गरेको बताए । विजयको खोजी भइरहेको र घटना बारे विस्तृत जानकारी पोष्टमार्टम रिपोर्ट आएपछि प्राप्त हुने डिएसपी सापकोटाले जानकारी दिए ।




