बारा । कार्तिक १ गते बाराको प्रसौनी गाउँपालिकामा नहरको डिलमा मृत अवस्थामा फेला परेका वीरगञ्जका २६ वर्षीय बरेन्द्र साह सोनारको हत्या प्रकरणमा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
मुख्य अभियुक्तका रूपमा भारत रक्सौलका निवासी विजय गुप्तालाई प्रहरीले मंगलबार राति पर्साको वीरगञ्ज महानगरपालिका १६ इनर्वाबाट पक्राउ गरेको हो ।
बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले गुप्ता घटनाको मुख्य अभियुक्त भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जानकारी दिएका छन् ।
मृतक सोनारकी पत्नी मनिषा देवीलाई पनि सोधपुछका लागि प्रहरीले हिरासतमा राखेको छ । डिएसपी सापकोटाका अनुसार घटनाको मुख्य अभियुक्त विजय नै हुन् ।
गत असोज २७ गते आइतबार साँझ बरेन्द्र र विजय बारास्थित मुसहरवामा लागेको मेलामा गएका थिए । तर, विजय त्यो रात साढे १२ बजे फर्किए पनि बरेन्द्र घर फर्केनन् । परिवारले खोजी गरेपछि बरेन्द्रको शव कार्तिक १ गते बिहिबार नहरको डिलमा फेला परेको थियो ।
शव भेटिएपछि विजय फरार भएका थिए । मृतकका परिवारले विजयलाई हत्याको आरोप लगाएका छन् । मृतकका दाइ सुरेन्द्रले बरेन्द्रकी पत्नी मनिषाले विजयलाई भाइ बारे सोध्दा उल्टै विजयको बचाउ गरेको बताउँदै, मनिषा र विजयको मिलेमतोमा हत्या भएको आशंका व्यक्त गरेका छन् ।
परिवारको दाबी अनुसार, विजय र मनिषाबीच विवाहेत्तर सम्बन्ध रहेको हुन सक्छ, जसका कारण बरेन्द्रको हत्या भएको हुन सक्ने आशंका गर्दै घटनाको विस्तृत अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।




