सिरहा । सिरहामा यात्रुवाहक बस पल्टिँदा १३ जना घाइते भएका छन् । मिर्चैया नगरपालिका ७ बाख्रा बजारस्थित मिर्चैया-कटारी राजमार्गमा बस पल्टिएको हो । उदयपुर कटारीबाट मिर्चैया तर्फ आउँदै गरेको ना ३ ख ७०३४ नम्बरको यात्रु बाहक मिनी बस दुर्घटना भएको हो ।
मिनी बसले पैदल यात्री सुभान शेखको छोरी अन्दाजी वर्ष ५ कि नाचपरि खातुनलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई बाटोको दाहिने साइडमा पल्टिन जाँदा उक्त बसमा सवार १३ जना घाइते भएको प्रहरी जनाएको छ ।
घाइतेहरुको मनकामना अस्पताल मिर्चैयामा उपचार भई रहेको छ । बस चालक जिल्ला सिरहा मिर्चैया नगरपालिका ६ बस्ने अन्दाजि वर्ष ३१ को लक्ष्मी साह फरार रहेको प्रहरी जनाएको छ ।
पैदल यात्री जिल्ला सिरहा मिर्चैयाका ७ फुलवरिया टोल बस्ने सुभान शेखको छोरी वर्ष ५ की नाचपरि खातुनको टाउकोमा गम्भीर चोट लागेकाले मनकामना अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो हस्पिटल विराटनगर रेफर गरेको छ ।
गाडीको ब्रेक नलागेर दुर्घटना भएको देखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।




